५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघीय महासभामा भाग लिएर फर्केलगत्तै पदबाट राजीनामा दिने भएका छन्। महासभा बैठकमा जानुअघि उनले एमाले, एमाओवादी र आफ्नै पार्टीका पदाधिकारीलाई त्यसबारे जानकारी दिएका दिएका छन् ।
प्रधानमन्त्री कोइराला महासभामा भाग लिन वुधबार अमेरिका प्रस्थान गर्दै छन् । कोइरालासँग परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहित १७ सदस्य भ्रमणमा रहने जनाइएको छ ।
असोज ६ गते अमेरिका गएपछि कोइरालाको टोली ११ दिनपछि असोज १७ मा स्वदेश फर्किने तय भएको छ।
प्रधानमन्त्री कोइरालाले यसअघि संविधान जारी भएको भोलिपल्टै राजीनामा दिने बताउँदै आएका थिए। आफ्नै नेतृत्वमा संविधान जारी भएको ऐतिहासिक सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिन उनले महासभा बैठकमा सहभागी हुने चाहना देखाएपछि गठबन्धन दल एमालेले सहमति दिएको हो।
संविधान जारी भएको १४ दिनभित्र नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ। प्रधानमन्त्री कोइराला फर्केको २ दिनभित्रै नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने छ। त्यससम्बन्धी छलफल र आवश्यक निर्णय लिन पदाधिकारीहरूलाई जिम्मेवारी दिएर जाने जानकारी गठबन्धन दल एमालेका शीर्ष नेतालाई प्रधानमन्त्रीले दिइसकेको स्रोतले जनाएको छ। ७ बुँदे समझदारीअनुसार नै प्रधानमन्त्रीमा एमालेलाई कांग्रेसले सहयोग गर्ने संकेत देखिएको छ । अन्य आकांक्षीका रुपमा कांग्रेस नेता शेरबहादुर देउवा देखा पर्ने विश्लेषण समेत गरिएको छ ।












