४ असोज, काठमाडौं । संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
संसद भवनको पहिलेको भवनको पश्चिमपट्टि पर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबार नजिकैको बगैंचामा प्रधानमन्त्रीले विभिन्न विशिष्ट व्यक्तिहरुका लागि चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।
चियापानमा प्रधानन्यायधीश, संविधान सभाका अध्यक्ष, नेपाल सरकारका मन्त्रीहरु, कुटनीतिक निकायका प्रमुखहरु लगायतलाई आमन्त्रण गरिएको थियो ।
चियापानमा राष्ट्रकवि माधवप्रसाद घिमिरे सहभागी भएका थिए । राष्ट्रकवि घिमिरेसँग तस्वीर खिचाउनेको ठूलै घुइँचो देखिन्थ्यो ।
त्यसैगरी नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समेत सहभागी थिए ।
तराई क्षेत्रका सभासद्हरुको समेत चियापानमा सहभागिता थियो । चियापान कार्यक्रममा पुगेका संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग सिराहा ३ बाट निर्वाचित कांग्रेस सभासद् सितादेवी यादवले गुनासो पोखिन् ।
अराजकहरुले आफ्नो घर र मोटर जलाइदिंदा समेत नजिकै रहेको प्रहरीले सुरक्षा नदिएकोप्रति उनले चिन्ता व्यक्त गर्दै थिइन् ।

















