३ असोज, काठमाडौं । राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालको संविधान २०७२ जारी गरेका छन् ।
आइतबार अपरान्ह बसेको संबिधानसभाको बैठकमा राष्ट्रपति यादबले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् । राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान–२०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरेका हुन् । राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ । यादवले संविधानका प्रतिहरुमा हस्ताक्षर गर्दै सभासद्हरुतर्फ देखाएर सार्वजनिक गरेका थिए । सार्वजनिक पछि संविधान लागू भएको घोषणा सम्बोधनमार्फत गरेका थिए ।
संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन गरेका थिए ।
बैैठकमा धन्यवाद प्रस्ताव पेश गर्दे सभाध्यक्ष सुवास नेम्वाङले संबिधानसभाले गरेका गरेका कामकारवाहीका बारेमा जानकारी गराएका थिए ।
राष्ट्रपतिबाट जारी गरिएको संविधान आजैका मितिबाट लागू भएको छ ।
संविधान जारीसँगै संविधान सभा आजैका मितिदेखि व्यवस्थापिका संसदमा रुपान्तरित भएको घोषणा सभाध्यक्ष नेम्वाङले गरेका थिए ।
राष्ट्रपतिले संविधान जारी गरी सकेपछि सभाध्यक्ष नेम्वाङले वर्तमान संविधान सभाले गरेका महत्वपूर्ण निर्णयबारे विवरण प्रस्तुत गरेका थिए ।












