२ असोज, काठमाडौं । आइतबार अपरान्ह ५ बजे संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि शीर्ष नेताहरुले काठमाडौंको खुल्लामञ्चमा विजयसभा गर्ने भएका छन् ।
नयाँ संविधान जारी भएपछि त्यसलाई एक जुगमा एकमा एक पटक आउने अवसर भन्दै उनीहरुले सोमबार दिउँसो गरिने विजयसभामार्फत देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
संविधान जारी भएपछि नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायलाई एकताको सन्देश दिन दलहरुले विजयसभा गर्ने घोषणा गरेका हुन् ।
सभालाई कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । सभाअघि काठमाडौंबाट ठाउँ ठाउँबाट रयाली पनि निकालिने भएको छ ।
‘हामीले खुल्लामञ्चमा विशाल जनसभा गरी जनतामाझ संविधानको खुसी बाँड्ने निर्णय गरेका छौं’, कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले भने, ‘खुल्लामञ्चको सभामा सहभागी भएर नयाँ संविधानलाई स्वागत गर्न हामी अपिल गर्छौं ।’
शीर्ष दलले सोमबार दिउँसो देशभर सद्भाव र विजय र्याली निकाल्न पनि आग्रह गरेका छन् ।












