२ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतको रूपमा शुक्रबार बिहान काठमाडौं उत्रिएका भारतीय विदेश सचिव जयशंकरले मुख्य तीन दल र आन्दोलनरत दललाई मतभेद सुल्झाउन चर्को दवाब दिएका छन्।
उनले शुक्रबार राष्ट्रपति र तीन पार्टीका शीर्ष नेतालाई छुट्टाछुट्टै तथा आन्दोलनरत मधेसी दललाई दिउँसो राजदूतावासमा लन्चमा संयुक्त भेट गरेका थिए।
सबै शीर्ष नेताहरुसँगको भेटमा जयशंकर कडा रुपमा प्रस्ताव भएको थाहा भएको छ। उनले मुख्य राजनीतिक दल र आन्दोलनरत दल जसरी पनि सहमतिमा पुग्नु पर्ने दवाब दिएका थिए। उनले मधेसमा आन्दोलन चर्किए भारतले संविधानमा समर्थन गर्न नसक्ने र त्यसो भएमा विश्वको समर्थनको कुनै अर्थ नरहन चेतवानी दिएका थिए।
भारतीय प्रधानमन्त्री मोदीसँग हिजो मात्रै उच्चस्तरीय परामर्श पछि उनको सन्देश लिएर आएका जयशंकरले नेताहरुसँग ‘पुलिस, सेना लाएर गोली हानेर लेखिएको संविधानको पनि के अर्थ हुन्छ र’ भनेर सोधेको एक नेताले बताए।
मधेसमा बल प्रयोग गरेर र कर्फ्यु लगाएर लेखिएको संविधानको कुनै अर्थ नहुने भन्दै उनले नेताहरुलाई सोधे, ‘असोज ३ पछि मधेसमा स्थिति सामान्य हुन्छ भन्ने के ग्यारेन्टी छ ?’
स्थिति उग्र हुन सक्ने र मधेमा हिंसा भड्किए त्यसले सिमा पारी भारतका बिहार र युपीलाई प्रभावित पार्न सक्ने भन्दै उनले ‘त्यस्तो अवस्थामा आफूहरु चुप लागेर बस्न नसक्ने’ चेतावानी दिएको एक नेताले बताए।
बालुवाटार स्रोतले भन्यो, ‘संविधान घोषणा केहि दिन पर सारेर भएपनि मधेसी दललाई समेट्नु पर्ने भारतको सुझावलाई तीन पार्टीले पुरै लत्याएको’ तथा ‘मधेसमा हिंसा बढ्यो भने त्यसको प्रभाव बिहार र उत्तर प्रदेशमा पनि पर्छ’ भन्नेमा भारतको धेरै चिन्ता देखियो।
जयशंकर मुख्य तीन दलसँग मात्रै राकिएनन्, लैनचौरमा मधेसी पार्टीहरुसंगको बैठकमा पनि उनले अराजक नहुन र लचिलो भएर सहमतिमा पुग्न दवाब दिए।
‘तपाईहरुको हिँसाले हामीलाई र तपाइहरुलाई पनि घाटा पुग्छ’, एक नेताले जयशंकरलाई उदृत गर्दै भने, ‘धेरै अराजक नभई बार्ता मार्फत समस्याको समाधान खोज्न अग्रसर हुनुहोस।’
जयशंकरले मधेसी दलहरुलाई धेरै माग नराख्न चेतावानी दिँदै दस वटा मागको सट्टा दुई वटा मात्र माग राखेर मुख्य दलहरुसँग सहमतिमा पुग्न भरमग्दुर प्रयास गर्नु सुझाएको एक मधेसी नेताले बताए।












