सरकारले २६ वटा नयाँ नगरपालिका र एउटा उपमहानगरपालिका थपेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले नगरपालिका र उपमहानगरपालिकाको संख्या थपेको हो ।

कैलालीको धनगढी नगरपालिकालाई विस्तार गरी उपमहानगरपालिका बनाइएको छ । यसअघि धनगढी नगरपालिका मात्रै थियो ।
मन्त्रिपरिषद बैठकले ११ नगरपालिकाहरुलाई विस्तार गरेको छ । कैलालीका उर्मा र फूलबारी गाविस गाभेर धनगढी उपमहानगरपालिका बनाइएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास मन्त्रालयबाट सिफारिस भइआएका २८ मध्ये २६ स्थानलाई नगरपालिका बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले तनहुँको भिमाद र स्याङ्जाको गल्याङबारे थप अध्ययन गरेपछि मात्रै निर्णय गर्ने गरेको छ ।
नयाँ थपिएका नगरपालिकाहरु :
सरकारले झापामा गौरादह, तेह्रथुमको बसन्तपुरमा लालीगुराँस, सप्तरीको हनुमाननगरमा हनुमाननगर योगिनीमाई, सिरहाको सुखीपुरमा सुखीपुर र सिरहाकै धनगढीमा धनगढी नगरपालिका बनाउने निर्णय गरेको छ ।
त्यसैगरी ललितपुरको चापागाउँ र बज्रबाराही मिलाएर बज्रबाराही नगरपालिका बनाइएको छ । जुटपानीलाई कालिका नगरपालिका, चितवनमै हर्दी भण्डारालाई राप्ती नगरपालिका, सर्लाहीमा बरहथवालाई बरहथवा नगरपालिका र तनहुँमा भानु गाविसलाई भानु नगरपालिका बनाइएको छ ।
तनहुँमै आँबुखैरीलाई आँबुखैरेनी नगरपालिका बनाइएको छ । नवलपरासीमा मध्यविन्दु नगरपालिका, कपिलबस्तुमा भृकुटी नगरपालिका र स्याङ्जामा भीरकोट नगरपालिका बनाइएको छ ।
लमजुङमा एकै पटक तीन नगरपालिका थपिएका छन् । त्यहाँ राईनास, करापुटार र मध्य नेपाल नगरपालिका बनाइएको छ ।
जाजरकोटमा भेरीमालिका नगरपालिका, रुकुममा चौजाहरी नगरपालिका, सल्यानमा बाघचौर नगरपालिका, सुर्खेतमा शुभघाट गंगामाला नगरपालिका र अछाममा कमला बजार नगरापलिका बनाइएको छ ।
त्यसैगरी कञ्चनपुरमा बेलडाँडी नगरपालिका, बेदकोट र कञ्चनपुर नगरपालिका थपिएका छन् । त्यसैगरी बर्दियामा सैनावर नगरपालिका थपिएको छ ।
सरकारको यो निर्णयपछि नगरपालिकाको संख्या २१६ पुगेको छ भने उपमहानगरपालिका १२ पुगेका छन् ।











