१ असोज, काठमाडौं । देवताहरुका वास्तुकार विश्वकर्माको पूजा शुक्रबार गरिँदै छ । शहरदेखि, घर र विभिन्न हातहतियार निर्माण गर्ने शिल्पी व्यक्तिका रुपमा पुराणहरुमा विश्वकर्माको व्याख्या भएको पाइन्छ । विश्वकर्माकी पुत्री संज्ञाले पति सूर्यको ताप सहन गाह्रो भएपछि सूर्यको ताप कम गर्न सूर्यलाई खुर्किएको कथा समेत विभिन्न ग्रन्थहरुमा पाइन्छ । वाल्मिकी रामायणका अनुसार सुनको लंका पनि विश्वकर्माले नै बनाएका थिए ।
नेपालमा प्रत्येक वर्षको आश्विन सङ्क्रान्ति असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिँदै आएको छ । समुद्रमन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ ।
नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले शुक्रबार काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको अत्याधिक भिड लाग्छ ।
विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । बडादसैँको नवमीमा पनि उनको पूजा गरिन्छ ।
नेपालमा आजै विज्ञान तथा प्रविधि दिवस पनि मनाइन्छ । नेपालमा असोज सङ्क्रान्तिदेखि नै शरद् ऋतु प्रारम्भ भएको मानिन्छ ।












