एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्ने बिषय सामान्य प्रक्रियामात्र नभई पार्टी कै मिसन भएको बताएका छन् । बुधबार एकीकृत माओवादी पार्टी कार्यालय पेरिसडाडामा बुधबार आयोजित पोष्टबहादुर बोगटी ‘दिवाकर’को प्रथम श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीले भनेजस्तो संबिधान नआएपनि मिसन भएकाले यसलाई सफल पार्न आग्रह पनि गरे । पहिलो संविधानसभाभन्दा दोश्रो संविधानसभामा पार्टी हैसियत कम रहेको उल्लेख गर्दे अध्यक्ष प्रचण्डले धेरै खोज्दा प्राप्त उपलब्धी पनि गुम्ने खतरा रहेकाले सहमतिमा आएको बताए । अहिले मुलुक गम्भीर चुनौति र अवसरयुक्त मोडमा रहेको भन्दै पार्टी एक ढिक्का भई अघि बढ्नुपर्ने धारणा पनि प्रचण्डले व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले अहिले पार्टीभित्र अनुशासन र प्रद्धतिमा गम्भीर समस्या आएको उल्लेख गर्दै मूल्यमान्यता समेत भाँचिएको भन्दै गुनासो पनि गरे । संविधान निर्माण प्रक्रिया टुङ्गाएर पार्टी पुननिर्माणको सुरुवात हुने उनको भनाइ थियो । प्रचण्डले संविधान निर्माण सके लगतै माओवादीको पुनर्गठनको प्रक्रिया समेत सुरु गरिने बताए ।
एमाओवादीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको गत वर्ष भदौ ३० गते निधन भएको थियो । एमाओवादीभित्रका त्यागी र संघर्षशील नेता मानिने बोगटी पार्टीभित्रको अन्तरद्वन्द्वलाई समेत मिलाएर लैजाने नेताका रुपमा परिचित थिए ।

यसैबीच एकीकृत नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य, केन्द्रीय परिषद् सदस्य र अन्तराष्ट्रिय विभाग सदस्य मुक्ति खनालको निधन भएको छ । खनालको श्रद्धाञ्जली समेत पेरिसडाँडामै आयोजना गरिएको थियो । खनाललाई श्रद्धाञ्जलि दिन कांग्रेस उपसभापति रामचन्द्र पौडेल समेत पेरिसडाँडा पुगेका थिए ।











