२९ भदौ, काठमाडौं । हिन्दू राष्ट्र घोषणाको माग राख्दै चार युवा आमरण अनशन बसी रहेको बेला संविधान सभाले भने धर्म निरपेक्षतालाई पारित गरेको छ । आमरण अनशनको १५ औं दिनमा संविधान सभाले यस्तो विषय पारित गरेपछि स्वास्थ्यस्थिति चिन्ताजनक रहेका युवाहरुको अवस्था अब के हुने भन्ने चिन्ता झन बढेको छ ।
भर्खर १८ वर्ष पुग्दै गरेका आमरण अनशनकारी कमल जोशीलाई पटकपटक बेहोस भएपछि १३ औं दिन सोमबार वीर अस्पतालको आकस्मिक कक्ष पुर्याइयो। उपचारपछि उनी २४ घन्टामै अनशनस्थल खुलामञ्च फर्के र नयाँ संविधानमा हिन्दु राष्ट्र नेपाल लेखिनुपर्ने मागसहित भदौ १४ गतेदेखि सँगै आमरण अनशनमा बसेका ४२ वर्षीय प्रेमनिधि भारद्वाज, ४० वर्षीय खेमनाथ आचार्य र २९ वर्षीय सागर कटुवालसँग मिसिए।आमरण अनशन १६ औं दिन पुग्दा जोशीले भने ‘मलाई मेरो माया छैन, देश र माटोको माया छ।’
एघार दिनदेखि लगातार स्लाइन पानी चढाइएका चारैजनाको हात सुन्निएको छ। स्लाइन छेड्ने ठाउँ बाँकी छैन। चारैजना एक सातादेखि उठेर बस्न सकेका छैनन्।
महाराजगन्ज मेडिकल कलेजका पूर्वक्याम्पसप्रमुख प्राध्यापक डा। रामप्रसाद उप्रेतीका अनुसार उनीहरूमा रक्तचाप, सुगर, श्वासप्रश्वास र मुटुमा समस्या छ। भारद्वाजले भने, ‘जताततै आन्दोलन र त्यसमा रगतै रगतमात्र देख्ने बानी परेको सरकारले शान्तिपूर्ण आमरण अनशन किन देख्थ्यो ?’
कटुवालले थपे, ‘संविधानमा धर्म निरपेक्षता नै लेख्ने टुंगो लागेको छ तर हामीलाई यो मान्य छैन, हामी देह त्याग्न तयार छौं तर आमरण अनशन तोड्न तयार छैनौं।’ आचार्यले विश्वको एकमात्र हिन्दु राष्ट्रको गरिमा कायम गरेरै छोड्ने अठोट गरेकाले हार नखाने बताए।












