२९ भदौ, काठमाडौं । संविधान जारी गर्ने दिन तय भएपछि पनि राष्ट्रपति डा. रामवरण यादवले संविधान रोक्ने अनेक खेल गर्न थालेका छन् । सार्वभौम संविधान सभालाई समेत सुझाव पत्र लेखेर हस्तक्षेप गर्न र अलमल्याउन खोजेका यादवले संविधानका सभाका अध्यक्षलाई सोमबार भेट्न समेत मानेनन् । अध्यक्ष सुवास नेम्वाङले संविधान जारी गर्ने निम्तो दिन शितल निवास जान लागेको सार्वजनिक गरे तर यादवले समय दिएनन् । उल्टै दवाव दिनका लागि प्रधानमन्त्री सुशील कोइरालालाई शितल निवास बोलाए । आफै टेलिफोन गरेर कोइरालालाई शितल निवास बोलाएका राष्ट्रपति यादवलाई प्रधानमन्त्रीले आफू नआउने जवाफ फर्काए । विरामी भएको भन्दै प्रधानमन्त्री कोइराला बालुवाटार गएनन् । बेलुका साढे ७ बजेलाई समय मिलाइए पनि प्रधानमन्त्री शीतलनिवास नगएका हुन् ।
राष्ट्रपति यादवले संविधान जारी भएपछि पद छाड्नुपर्ला भन्ने डरले संविधानमा अड्चन खडा गर्ने गरेको आरोप लाग्ने गरेको छ । यही आरोपप्रति लक्षित गर्दै केही समयपहिले यादवले संविधान बनाए आफूले पहिले नै राजिनामा दिन समेत तयार रहेको प्रमुख तीन दलसमक्ष बताएका थिए ।
सोमबार पनि संविधान सभाले संविधानका धारा पारित गर्दै गर्दा आफूले संविधान सभालाई लेखेको सुझाव पत्र सार्वजनिक गरेका थिए ।












