२८ भदौ, काठमाडौं । प्रमुख तीन राजनीतिक दलका तर्फबाट प्रस्तुत भएको ‘धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको संशोधन प्रस्ताव पारित भएको छ ।
सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुुँदा दुई तिहाइ बहुमतले स्वीकृत गरेको छ । स्वीकृत भएसँगै सो पारित प्रस्ताव विधेयकको अङ्ग बनेको घोषणा गरियो ।
नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म्निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । सो धाराका बारेमा २१ वटा संशोधनहरु परेका थिए ।
उक्त विधेयकको धारा एक र दुईमा कसैको संशोधन नभएकाले संविधानसभाको सोमबारको बैठकमा सर्वसम्मतरुपमा पारित भएको थियो ।
प्रमुख तीन दलको संशोधन प्रस्तावलाई बैठकले स्वीकृत गरेकाले विधेयकको धारा ३ दुई तिहाई बहुमतका आधारमा पारित भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राख्नुभएको नेपाल स्वतन्त्र अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, प्रजातान्त्रिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य हो भनेर राख्नुभएको प्रस्तावलाई पनि बैठकले अस्वीकार गरेको थियो ।
सो प्रस्तावलाई ध्वनि मतका आधारमा बहुमतले अस्वीकार गरेपछि अध्यक्ष थापासहित राप्रपा नेपालका सभासद्हरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो ।
सोलगत्तै सभाध्यक्ष नेम्वाङले कुल सदस्य सङ्ख्याको कम्तीमा दश प्रतिशत सदस्यहरु उभिएर समर्थन जनाउनुपर्नेमा त्यो सङ्ख्या अपुग भएकाले प्रस्ताव अस्वीकृत भएको र मत विभाजन गरिरहनु नपर्ने जानकारी गराउनुभएको थियो ।











