२६ भदौ, रुपन्देही । रुपन्देहीमा शनिबार राति भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । भारतीय ट्रकले दिएको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । सुनौलीदेखि भैरहवातर्फ गैरहेको लु १० प ३२२३ नम्बरको मोटर साइकललाई भैरहवाबाट भारतर्फ जाँदै गरेको युपी ५३ टी ८३०९ नम्बरको ट्रकले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक पुरुष, एक महिला र एक बालक रहेका छन् । एकै परिवारका तीन जना भएको अनुमान गरिए पनि उनीहरुको सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











