२६ भदौ, काठमाडौं । शुक्रबार निकै तनावग्रस्त रहेको धनुषा शनिबार भने शान्त देखिएको छ । शनिबार धनुषाको नगर क्षेत्रमा प्रदर्शनकारीको उपस्थिति नरहेको त्यहाँस्थित हाम्रा संवाददाता सुवास कर्णले जानकारी दिए । प्रहरीको संख्या पनि सडकमा कम देखिएको उनले जानकारी दिएका छन् । त्यस्तै दुई दिनअघि तनावग्रस्त बनेको सिराहा पनि आज शान्त रहेको हाम्रा सिराहा संवाददाता रामभरोसीले जानकारी दिएका छन् ।
सिराहामा अपरान्हसम्म कुनै तनाव नदेखिएको र प्रहरी समेत सडकमा नआएको उनले बताए । त्यस्तै रुपन्देही समेत आज शान्त रहेको छ । केही दिन पहिले उग्र झडप भएको भैरहवा केही दिनदेखि शान्तिपूर्ण रहेको हाम्रा संवाददाता कन्हई यादवले जानकारी दिएका छन् । दुई दिनपहिले मधेसी मोर्चाको सभा समेत कडा सुरक्षाका बिचमा सम्पन्न भएको थियो । शनिबार तराई मधेसका सबै जसो क्षेत्र शान्त रहेको र कतै पनि झडप नभएका समाचारहरु प्राप्त भएका छन् ।
शहरी क्षेत्र सुनसानजस्तै रहेका छन् भने ग्रामिण भेकमा कतै कतै सानातिना प्रदर्शन भएको जनाइएको छ । नेपाल प्रहरीका उच्चअधिकारीसहित प्रहरीहरु मारिएको कैलाली क्षेत्रमा समेत सद्भाव कायम भएका समाचार प्राप्त भएका छन् ।











