आकाशकुमार राजभण्डारी
२४ भदौ, सप्तरी । अन्ततः सप्तरी जिल्ला पनि दंगाग्रस्त क्षेत्र घोषणा भएको छ । अवस्था नरहेपनि स्थानीय प्रशासनले सप्तरी जिल्ला अन्तर्गतको पूर्व–पश्चिम राजमार्गको सम्पूर्ण क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले सुरक्षा निकायका अधिकारीहरुको उपस्थितिमा बिहीबार राति ७ः३० बजे आयोजना गरेको पत्रकार सम्मेलनमा दंगाग्रस्त क्षेत्र घोषणा गरे । उनले प्रहरीबाट सम्भव नभएकाले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको बताए । दंगाग्रस्त क्षेत्र घोषणा भएसँगै राजमार्गमा अब सेना परिचालन हुनेछ ।
‘तीन दिनदेखि सबारी चल्न सकेको छैन’ प्रमुख जिल्ला अधिकारी यादवले भने, “सबारीसाधन चलाउन नै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।”
पूर्वमा कोशी व्यारेजदेखि पश्चिममा बलान नदीको पुलसम्म तथा राजमार्गको दायाँ–बायाँ पाँच सय मिटर क्षेत्रसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । भदौ २४ गते अर्थात बिहीबार रातिदेखि अर्काे आदेश जारी नभएसम्मलाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम दंगाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
दंगाग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न वा पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न, सडक अवरुद्व गर्न नपाइने यादवले बताए । उनले यो क्षेत्रमा ५ वा सोभन्दा बढी व्यक्तिहरु जम्मा हुन निषेध गरिएको पनि जानकारी गराए ।
अनिश्चितकालिन बन्दको क्रममा राजमार्गलाई अवरुद्व गर्ने मनसायले लोकमार्ग र सहायक मार्गको बिभिन्न स्थानहरुमा सभा जुलुस गर्ने, राजमार्ग खुलाउन परिचालित सुरक्षा फौजमाति ढुँगामुडा गर्ने, बिभिन्न घरेलु हतियारसहित प्रदर्शन गर्ने र सुरक्षा फौजमाथि आक्रमण गरेकाले दंगाग्रस्त क्षेत्र घोषणा गर्नुपरेको कारण प्रजिअ यादवले खुलाएका छन् । उनले यो क्रियाकलापको रोकथाम सामान्य प्रहरी कार्वाहीद्वारा सम्भव नदेखिएकाले नै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको बताए ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले त्यस्तो अवस्था नदेखिएपनि दंगाग्रस्त क्षेत्र किन घोषणा गरिएको ? भनी प्रश्न गर्दा प्रजिअ यादवले सबारीसाधन संचालन गराउन नै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको बताए ।
प्रशासनले राजमार्ग क्षेत्रमा मात्रै दंगाग्रस्त क्षेत्र घोषणा भएको र यहाँ मात्रै सो परिचालन हुने जानकारी गराएपनि बिहीबार राति बोदे बर्साइनमा पनि सेनाले गस्ती गरेको छ । यसअघि बिहीबार बिहानैदेखि सेना राजमार्गमा गस्ती गरेको पाइएको थियो ।













