दिनेश ठाकुर

२४ भदौ, नेपालगन्ज । नेपालगन्ज लगायत जिल्लाभरि पछिलो समय तस्कर सक्रिय हुन थालेका छन् । तस्करहरुले जिल्लाभरि तस्करीका लागि उपयुक्त ठानेका नाकाहरुबाट तस्करी गर्ने कार्य तिव्र रुपमा गरिरहेका छन् । बाँके जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोईराला सरुवा भए लगतै निराश रहेका तस्करहरुले पुनः आफनो सन्जाल फैलाउन सक्रिय भएका थिए । हाल सन्जाल बढाई सकेका तस्करहरु तस्करी कार्यमा सक्रिय भएका छन् ।
बाँके जिल्ला प्रहरी प्रमुख एसपी बसन्त पन्त आउनु अघिनै एसपी शेखर कोईराला सरुवा भए लगतै तस्करहरुले खुसियाली समेत मनाएका थिए । कोइराला जिल्ला छोडे लगतै बाँके जिल्लामा तस्करीको अनुपात बढ्न शुरु भएको हो । बिना भन्सार दिनदहाडै मोटरसाइकल लगायतको साधनमा सामान लोड गरेर बजार भित्र प्रवेश गर्ने तस्करहरु यसका उदाहरण हुन् ।
जिल्लामा प्रहरी प्रमुखका रुपमा सरुवा भएर एसपी पन्त आए पश्चात सानातिना व्यापारी बाहेक कुनैपनि तस्करीको ठुलो घटना बाहिर नआउनु र तस्करी बढ्नुलाई शंकाका दृष्टिले हेरिएको थियो । अंचल प्रहरी प्रमुख एसएसपी धिरु बस्नेत आएको केही दिनमै ठुलो परिमाणमा चाँदीका साथै अन्य सामान बरामद हुनु शंकामा मलजल थपेको छ ।
शान्ति सुरक्षा कायम गर्न भन्दै प्रहरी युनिटले खटाएको शादा पोशाकका घुमुवा प्रहरीले तस्करहरुसंग हाकिमहरुलाई बुझाउनु पर्ने भन्दै महिनावारी रुपमा मोटो रकम असुल्ने गरेका छन् ।
एक व्यापारीले आफनो नाम उल्लेख नगर्ने शर्तमा भने,–“एसपी पन्तले पैसा असुली गर्न घुमुवा पुलिस पठाउने गदर्छन । घुमुवा पुलिसले हाकिमका लागि पैसा माग्नुका साथुै आफुलाई खै भन्ने समेत प्रश्न गर्छन् ।”
प्रहरी प्रधान कार्यालयले केही महिना अगाडि सरुवा निकाल्दा डडेल्धुरा सरुवा भएका मध्यपश्चिम क्षेत्रीय अनुसन्धान समुहमा कार्यरत प्रहरी नायब निरिक्षक रामचन्द्र पन्त अनुसन्धान समुहमै र बागलुङ सरुवा भएका जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायब निरिक्षक नारायण शर्मा हालसम्म बाँकेमै खटिएका छन् । प्रहरी नायब निरिक्षक पन्त र शर्मा महिनौं बित्दा पनि बाँकेमै कार्यरत रहनुलाई शंकाको दृष्टिले हेरिएको छ ।











