२४ भदौ, वीरगंज । थरुहट थारुवान आन्दोलन केन्द्रीय परिचालन समितिका नेता रजाकुमार लेखीले तीन दलले चाहेर वा नचाहेर अहिले देशमा सैनिक शासन लगाउन खोजेको बताउन खोजेको आरोप लगाएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साले नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखीले ७० प्रतिशत जनताको संविधान नबने देशमा हतियार उठ्न सक्ने चेतावनी दिए ।

नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका केपी ओली र एनेकपा माओवादीका प्रचण्डको खस ब्राह्मण एकता परिषदले देशमा मुठभेड चाहेको र उनीहरुले देशमा अस्थिरता निम्त्याएर संविधान नबनाउन खोजेको आरोप लेखीले लगाए ।
नेता लेखीले टिकापुरको कैलालीमा अखण्ड सुदुरपश्मिका भिजिलान्ते लगाएर शेर बहादुर देउवा र भीम रावलले थारु आन्दोलन दबाउन खोज्दा प्रहरी अधिकृत सहित अन्यको ज्यान गएको बताउँदै सुशील कोईराला सरकारलाई कारवाही गर्नुपर्ने धारणा व्यक्त गरे ।
मधेसी, थारु, आदिवासी जनजातिहरुको आन्दोलन सफल नहुनुको मुख्य दोषी सञ्चार माध्यम रहेको बताउँदै सञ्चार माध्यमले सत्ताको भजकृतन गाउने काम मात्र गरेको आरोप उनले लगाए । नेता लेखीले मानवअधिकारवादी र सञ्चार माध्यम पनि एकल जातीय भएको आरोप अर्को आरोप लगाए ।











