२४ भदौ, काठमाडौं । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने लगायतका सात सूत्रीय माग गर्दै आमरण अनसन बसेको एघारौं दिनका दिन बिहीवार हिन्दू अभियन्ताहरुले एमाले नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । नेता नेपालकै निवासमा अनसनरत युवाका परिवार र धार्मिक संघसंस्थाहरूका प्रतिनिधिले प्रधानमन्त्रीदेखि लिएर दलहरूका नेतालाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले वुधबार प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउन अनसनकारी युवा खेमनाथ आचार्यकी धर्मपत्नी कल्पना आचार्य, सागर कटुवालकी धर्मपत्नी आरती कटुवाल, प्रेमनिधि भारद्वाकी धर्मपत्नी शीतल कण्डेलका साथमा बालसन्त मोहनशरण देवाचार्य, स्वामी पद्मधराचार्य, स्वामी जगन्नाथ आचार्य, राष्ट्रिय धर्म जागरण अभियानका संयोजक सन्त नेता शङ्करप्रसाद पाण्डे, सहसंयोजक देवी घिमिरे, सत्मार्ग अभियानका बौद्धिक प्रमुख जनार्दन घिमिरे, अभियानका के.सदस्य ध्रुवप्रसाद अर्याल, श्रीराम क्षेत्री, हिन्दू विद्यापीठका प्राचार्य डा. चिन्तामणि योगी, धर्मदर्शनका युवा प्रवक्ता चैतन्यकृष्ण, विश्व हिन्दू परिषद्का का.अध्यक्ष सुशिलचन्द्र अधिकारी, ब्राह्मण समाजका का.अध्यक्ष रुवयनाथ कोइराला, संयुक्त सनातन मोर्चाका संगठन प्रमुख दीपक सुवेदीलगायतका व्यक्तिहरु नेता नेपालको निवासमा पुगेका थिए ।

ज्ञापन पत्र बुझेपछि नेता नेपालले हिन्दूराष्ट्रको लागि उठेको आन्दोलन ढिलो भएको र सम्बन्धित पक्षले सुन्ने गरी नभएको प्रतिक्रिया दिएका थिए ।











