२४ भदौ, काठमाडौं । सामाखुसीका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्या योजना बनाएको आरोपमा धादिङका साजन गुरुङ र कारजोन गुरुङ फक्राउ परेका छन् ।
इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको दैनिकी निगरानी गरी सूचना दिएको र हत्या योजनामा संलग्न रहेको आरोपमा दुवै जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले फत्राउ गरेको हो । भदौ ३ मा कपुरधारास्थित घर अगाडिको खुल्ला ठाँउमा इन्काउन्टरमा घैंटे मारिएका थिए ।
उनीहरुले प्रहरीमाथि आक्रमण गर्नै विदेशी बोलाएका थिए । प्रहरीमाथि आक्रमण गर्ने योजना बनाएको टेलिफोन रेकर्ड र एसएमएसहरु फेला परेको एसएसपी सर्बेन्द्र खनालले बताएका छन् ।
प्रहरी स्रोतका अनुसार घैँटेका सहयोगी समीरमान बस्नेतले साजन गुरुङमार्फत काठमाडौंमा प्रहरीमाथि आक्रमण योजना बनाएका थिए । पक्राउ परेका कारजोन गुरुङले बस्नेत र गुरुङबीच मध्यस्थकर्ताको काम गरेको प्रहरीको भनाइ छ । यसका लागि १० लाख रुपैयाँको डिल भएको समेत अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घैँटे मारिएकै दिन बस्नेत उपत्यकाबाट भागेका थिए । उनले घैँटेको प्रमुख सहयोगीका रूपमा काम गर्दै आएका थिए ।
केही भारतीयलाई सो समूहले केही दिन कीर्तिपुरमा ल्याएर राखेको र सूचना चुहिएपछि उनीहरू भागेको प्रहरी अनुसन्धानमा खुलेको पनि प्रहरीले दाबी गरेको छ । केही बलिया आधार भेटिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरूले बताएका छन् ।
कपुरधारास्थित आफ्नै घरनजिकै ३ भदौमा घैँटे प्रहरीसँगको मुठभेडमा मारिएका थिए । घटनापछि घैँटेको सम्पत्तिबारे छानबिन थालेपछि उनका सहयोगीहरू आत्तिएको प्रहरीले जनाएको छ । प्रहरी आक्रामक भएपछि गुन्डाका नाइकेहरू सबैजसोले काठमाडौं छाडिसकेका छन् । केहीले भाडामा व्यक्तिहरू प्रयोग गरेर आक्रमणको योजना बनाएको प्रहरी स्रोत बताउँछ ।












