२४ भदौ, काठमाडौं । हिन्दू राष्ट्रको माग गरी दश दिनदेखि राजधानीको खुल्लामंचमा अनशनरत युवाहरुको प्राण रक्षाका लागि उनीहरुका परिवारले सरकासरसँग अपिल गरेका छन् । अनसनको दशौं दिन अनसनकारीका परिवार तथा अन्य हिन्दू राष्ट्र पक्षधरहरुले प्रधानमन्त्री शुशील कोइरालालाई ज्ञापन पत्र बुझाउँदै नेपाललाई तत्काल हिन्दुराष्ट्र घोषणा गरी अनसनकारीहरुको जीवन रक्षा गर्न माग गरेका हुन् ।
अन्यथा यस आन्दोलन बाट उत्पन्न हुने परिणामको जवाफदेही स्वयं सरकार, राजनितीक दल तथा संविधान सभा हुनुपर्ने उनीहरुको दावी छ । प्रधानमन्त्रीलाई विज्ञप्ती बुझाएलगत्तै संचारमन्त्री मिनेन्द्र रिजाल अनशनस्थल पुगी अनशनकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

हिन्दुराष्ट्र घोषणाको माग गर्दै भदौ १४ बाट शुरु भएको आमरण अनसनको दश दिन पुगी सकेको छ । दशौं दिनमा अनसनकारीहरुको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएको छ । सनातन हिन्दु राष्ट्र पक्षधर वहुसंख्यक नेपालीहरुको मर्म र भावना विपरीत धर्म निरपेक्षता लादिएको भन्दै उनीहरु अनशनमा बसेका हुन । धर्म निरपेक्षतालाई तत्काल खारेज गरी हिन्दुहरुको पहिचान कायम गराउन अनशनकारीले माग गरेका छन् ।











