अभयकुमार राई
२३ भदौ, विराटनगर । आन्दोलनरत संयुक्त मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले विराटनगरस्थित रानी भन्सार कार्यालय छेऊमा पाँच जना प्रहरीलाई पेट्रोल छर्केर जलाउने प्रयास गरेका छन् । तर प्रहरीले समयमै फायर खोलेका कारण मानवीय क्षति हुन नपाएको जनाइएको छ ।
प्रहरीका अनुसार रानीस्थित दुई नम्बर ढाटमा रहेको प्रहरी बिट तोडफोड गरी प्रहरीलाई जलाउने प्रयास भएको हो। डिएसपी प्रमोद खरेलका अनुसार त्यहाँ दुई जना नेपाल प्रहरी र तीन जना सशस्त्र प्रहरी थिए।
साढे ९ बजेतिर दुई सयजति आन्दोलनकारीले प्रहरी बिट जलाएर प्रहरीलाई पेट्रोल छर्किसकेको अवस्थामा सशस्त्र प्रहरीले तत्कालै फायर खोलेपछि आन्दोलनकारी भागेका थिए ।
खरेलका अनुसार स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एसएलआरबाट १० राउण्ड फायर खोलेको थियो। नेपाल प्रहरीले सर्ट गनबाट पाँच राउण्ड र राईफलबाट एक राउण्ड प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ।
महेन्द्र चोक, रोडशेष चोक र महावीर चौक तनावग्रस्त छ। त्यहाँ आन्दोलनकारीले आधा दर्जन मोटरसाइकल तोडफोड गरेका छन्। बन्दको प्रतिकार गर्न हिंडेको समूहसँग बन्दकर्ताको झडप समेत भएको छ । महावीर चोकनजिक प्रहरीको क्वीक रेस्पोन्स टिमको मोटरसाइकलसमेत तोडफोड गर्ने प्रयास भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
यसैबीच, रानीमा समाचार संकलन गर्न पुगेका पत्रकार नवीन कर्णले प्रयोग गरेको मकालु टेलिभिजनको मोटरसाइकलको ८ प २२२९ नम्बरको मोटरसाइकल आन्दोलनकारीले जलाएका छन्। आन्दोलनकारीले महावीर चोक, महेन्द्र चोक, रोडशेष र रानीलाई निशाना बनाएका छन्। यसक्षेत्रमा टायर बालेर आन्दोलनकारीले नाराबाजी गरिरहेका छन्।












