आकाशकुमार राजभण्डारी
२३ भदौ, सप्तरी । प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सप्तरीको भारदहमा कर्फ्यु जारी गरिएको छ । भारदहमा बुधबार बिहान ११ः३० बजे प्रहरीको गोली लागेर पोर्ताहा गाविस १ निवासी रामकिसुन राउतको घट्नास्थलमै ज्यान गएको छ । छातीमा गोली लागेको एक मिनेटभित्रै उनको ज्यान गएको हो ।
उक्त घट्नापछि स्थानीय प्रशासनले भारदहमा बुधबार दिउँसो २ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । पूर्वमा कंकालिनी मन्दिरदेखि ५ सय मिटर पूर्वसम्म, पश्चिममा टेम्पो स्टेन्डदेखि ५ सय मिटर पश्चिमसम्म, उत्तरमा पोर्ताहा हटियादेखि ५ सय मिटर उत्तरसम्म र दक्षिणमा सकरदही पुलदेखि तीन सय मिटर दक्षिणसम्म कर्फ्यु आदेश जारी गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।
उनका अनुसार सुरक्षा समितिको बैठकले सप्तरी जिल्लाको पूर्व–पश्चिम राजमार्गमा बुधबारै रातिदेखि निषेधाज्ञा आदेश समेत जारी गरिएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि पूर्वमा कोशी व्यारेजदेखि पश्चिममा बलान नदीसम्म निषेधाज्ञा जारी गरिएको पौडेलले बताए ।











