२२ भदौ, काठमाडौं । मधेसमा आराजक आन्दोलन गर्नेहरु लोकतन्त्र, गणतन्त्र र संघीयताविरोधी रहेको कांग्रेसका मधेसकेन्द्रित नेताले बताएका छन् । २०४८ सालको संसदमा मधेस अधिकारका लागि मैथिली भाषामा पहिलोपल्ट संसदमा धारणा राखेका कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले यस्तो बताएका हुन् । आफ्नो गृहजिल्ला धनुषाको कांग्रेस पार्टी कार्यालय जलाएपछि नेपालदेश डटकमलाई प्रतिक्रिया दिंदै ढुङ्गानाले अरुको पार्टी कार्यालय जलाउने शक्तिले लोकतन्त्र र बहुदलीय व्यवस्थामा विश्वास गर्नै नसक्ने धारणा व्यक्त गरे ।

केही दिनपहिले पर्सामा गिरिजाप्रसाद कोइरालाको सालिक ढालेको सन्दर्भ उल्लेख गर्दै ढुङ्गानाले गणतन्त्र र संघीयताका पक्षपाती गिरिजाप्रसाद कोइरालाको सालिक ढाल्नेहरु गणतन्त्र र संघीयताविरोधी रहेको उल्लेख गरे । मधेसको अधिकारका लागि गिरिजाबाबुले संघीयतामा जाने निर्णय गरेको स्मरण गर्दै उनले भने ‘उहाँको सालिक ढाल्नेहरु संघीयताविरोधी भएको प्रष्ट हुन्छ ।’
कुनकुन दल लोकतन्त्र, गणतन्त्र र संघीयताविरोधी हुन् भनी उनले नाम उल्लेख गर्न चाहेनन् । तर महन्थ ठाकुर लगायतका मधेसी नेताप्रति लक्षित गर्दै भने ‘गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजनीतिक नेतृत्व विकास गरेका कुनै पनि नेताले यस्तो अराजनीतिक कार्य गर्दैनन् ।’
मधेसमा अहिले भएको आन्दोलन मधेसकेन्द्रित असन्तुष्ट दलले नगरेको र अर्कै अराजक शक्तिबाट यस्तो गतिविधि भएको तर्क उनले गरे ।
थारुहरुको छुट्टै स्वायत्त प्रदेशसम्बन्धि माग बारे बोल्दै ढुङ्गानाले थारु अधिकारका लागि छुट्टै प्रदेशविनाको व्यवस्था गर्न सकिने बताए । भारतमा पश्चिम बंगालमा पनि नेपालीहरुलाई एउटै प्रदेशभित्र छुट्टै अधिकारको व्यवस्था गरिएको नजिर ढुङ्गानले उल्लेख गरे । छुट्टै गोर्खाल्याण्ड राज्य मागिरहेका दार्जिलिङ लगायतका नेपालीहरुलाई पश्चिम प्रदेशभित्रै राखेर पर्वतीय अधिकार दिइएको अवस्था पनि हेर्न आन्दोलनरत पक्षलाई ढुङ्गानाले आग्रह गरे ।











