२१ भदौ, धनुषा । सीमांकनको विरोधमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसको धनुषाको कार्यालयमा आगो लगाएका छन् ।
झण्डै दुई हजारको संख्यामा रहेका प्रदलर्शनकारीले राराब क्याम्पस नजिकै रहेको पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।

आगलागीका कारण कार्यालयमा भएका कागजपत्र जलेर नष्ट भएको छ । दमकलको सहयोगमा आगो निभाइएको छ ।
धनुषको स्थिति तनावग्रस्त बनेपछि प्रहरीले प्रतिकारका लागि अश्रुग्यास र गोली प्रहार गरेको छ । आन्दोलनकारीतर्फ दुई दर्जन घाइते भएको धनुषाका पत्रकार सुवास कर्णले जानकारी दिए । प्रहरीतर्फ कति घाइते छन् भन्ने जानकारी प्राप्त नभएको उनले बताए । समाचार संकलनमा पत्रकारहरुलाई समेत समस्या परेको कर्णले बताए । जनकपुरमा शान्ति सुरक्षा कायम गर्न सर्वदलीय बैठक बसेर निर्णय गरिने जानकारी प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएका छन् । धनुषाको अवस्था सोमबार साँझसम्म पनि तनावग्रस्त रहेको छ ।











