१९ भदौ, काठमाडौं । प्रमुख चार दलबीच अहिले सात प्रदेशलाई नै कायम गरेर अघि बढ्ने सहमति भएको छ । थारु समुदायको मागबारे सीमांकन आयोग बनाएर टुङ्गो लगाउने सहमति भएको छ ।
शनिबार साँझ सिंहदरवारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा संयुक्त रुपमा संशोधन दर्ता गर्ने सहमति भएको छ ।
अहिले सात प्रदेशको सीमांकन कायम रहने र थारु समुदायको विषय आयोग बनाएर टुङ्गाउने सहमति भएको एमाओवादी अध्यक्ष प्रचण्डले जानकारी दिएका छन् । उनका अनुसार बाग्लुङ नटुक्रने भएको छ भने रुकुमको विषय सीमांकन आयोगले टुङ्गो लगाउने सहमति भएको छ ।

चार दलबीच धर्मनिरपेक्षता कायमै राख्ने सहमति भएको छ । धर्म निरपेक्षतालाई ब्याख्या गरेर राखिने छ ।
बैठकमा जनजाति, मुस्लिम, मधेसी र थारु आयोग गठन गर्ने र १० वर्षमा पुनरावलोकन गर्ने सहमति भएको छ । यस्तै थ्रेस होल्ड नराख्ने सहमति भएको एमाले नेता माधवकुमार नेपालले जानकारी दिएका छन् ।
चार दलले संयुक्त संशोधन गर्दा गर्नेछन् भने अहिले चार दलका सभासदहरुले हालेको संशोधन प्रस्ताव प्रक्रियामा गएर फिर्ता लिने सहमति भएको छ ।











