१८ भदौ, बर्दिया । थारु संघर्ष समिति बर्दियाले आज जिल्लाका सबै थारुहरुलाई घरघरमा गएर हतियार लिएर आन्दोलनमा जान जबर्जस्ती गरेको छ । केही थारुहरुले गाउँगाउँमा फतवा जारी गरेर आन्दोलनमा नजानेलाई ५ सय रुपैयाँदेखि १ हजार जरिवाना गर्ने धम्की दिएको वर्दियाका स्थानीय थारुहरुले बताएका छन् । आफ्नो गाउँ वरपर भएका आन्दोलनमा प्रत्येक घरबाट एक जना नगए कुनै गाउँमा ५ सय र कुनै गाउँमा १ हजार रुपैयाँ तिराउने भनी धम्क्याएपछि आफूहरु जाना बाध्य भएको वर्दिया बाँसगढीका एक स्थानीय थारुले बताए ।
आफूहरु पनि चाँडै बन्द खुलोस् भन्ने पक्षमा रहेको तर आफूहरु रकम तिर्नुपर्ने डरल मात्र आन्दोलनमा आएको कृषक थारुहरुले बताए । आफूहरुमाथि आएको यस्तो धम्की बारे सरकार र गृहमन्त्रालयको ध्यान नगएको गुनासो समेत उनीहरुले गरेका छन् ।
वर्दियामा यस अघि आन्दोलन सेलाउँदै गएको थियो । शैक्षिक संस्थाहरु समेत सुचारु भएका थिए । विहीबारदेखि भने फेरि शैक्षिक संस्था बन्द गराइएको छ ।
शुक्रबार मात्रै घरेल हतियार बोकेका आन्दोलनकारीसँगको झडपमा वर्दियाको मैनापोखरमा एक प्रहरीको ज्यान गएको छ ।











