१८ भदौ, काठमाडौं । बर्दियामा प्रदर्शनकारीसँगको झडपमा गोली लागेर प्रहरीका हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको छ। आन्दोलनकारीले कब्जा लिनका लागेका दुईवटा बसलाई छुटाउने क्रममा शुक्रबार बिहान मैनापोखरीमा भएको झडपमा गोली लागेर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।
मैनापोखरमा भएको झडपमा आन्दोलनकारीबाट गोली चलाइएको थियो। उनीहरुले घरेलु हतियारसमेत प्रहरीमाथि प्रहार गरेका थिए। बस छुटाइसकेपछि आन्दोलनकारीले हवल्दारमाथि आक्रमण गरेका थिए।
उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै अत्यधिक रक्तस्राप भएर मृत्यु भएको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी विनोद कुँवरले हवल्दारको मृत्यु भएको पुष्टि गरे। उनले घट्नाबारे अनुसन्धान भइरहेको बताए। इलाका प्रहरी कार्यालय मैनापोखरका हवल्दार पाण्डेको खुट्टामा गोली भेटिएको अस्पतालले जानकारी दिएको छ ।
थारुहरुद्वारा सहमतिको उल्लंघन
रात्रिबसलाई गन्तव्यसम्म जान दिने सहमति प्रहरी र थारु संघर्ष समिति बर्दियाबीच भैसकेको थियो । तर घरेलु हतियार बोकेको भीडले संघर्ष समितिका संयोजक गोविन्द थारुले गरेको सहमति समेत टेरेन । उल्टै प्रहरीमाथि आक्रमण गर्न थाल्यो । सहमतिअनुसार प्रहरीले बसहरुलाई स्कर्टिङ गर्दै गन्तव्यमा पुर्याउन खोज्दा घरेलु हतियारधारीले आक्रमण सुरु गरेका थिए ।












