दिपेश पौडेल /रौतहट १६ भदौ

रौतहटको सदमुकाम गौरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुधवार विरोध प्रर्दशन गरेका छन् । प्रर्दशनका क्रममा स्थानिय प्रशासनले गौरमा लगाएको निषेधाज्ञा मोर्चाले तोडेको छ । मोर्चाले बन्दको १९ औं दिन गौर नगरपालिका क्षेत्र भित्रै जुलुस प्रर्दशन गरेर निषेधाज्ञा तोडेको हुन । मोर्चाका हजारौ नेता कार्यकर्ताले गौर नपा वडा नं. १० सबगढा बाट नारावाजी गर्दै जुलुस प्रदर्शन गरेका छन । गौर ७ गढवा मा रहेको नयाँ बसपार्कमा भेला भएर जुलुस सहित गौर नगरपालिका परिक्रमा गर्ने मोर्चाको कार्यक्रम तय गरिएको थियो । तर सुरक्षाकर्मीले नयाँ बसपार्क क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिए पछि प्रर्दशनकारीहरुले गढवा ७ मा रहेको राजमार्गमै आफ्नो कार्यक्रम सम्पन्न गरेको मोर्चाका नेता तथा सदभावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसेदले बताए । मोर्चाको जुलुुस गौर बजार क्षेत्रमा प्रवेश गर्न खोजे पछि नया बसपार्कमा खटिएका सुरक्षाकर्मीले एक राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले हवाई फायर गरे पछि मोर्चाका नेताहरुले आफूहरुको जुलुस शान्तीपूर्ण भएको र कुनै प्रतिवाद नगर्ने भन्दै बाटोमै बसेका थिए । अन्य दिन जस्तो लाठी भाटा र झण्डा नबोकेका मोर्चाका कार्यकर्ताले सँयमित भएका थिए । मोर्चाको आव्हानमा निस्कीएको जुलुश शान्तीपूर्ण रुपले कोण सभा गर्दै सम्पन्न भएको थियो । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगर क्षेत्र सहित उतर दक्षिण ४२ किलोमिटर राजमार्गको १ किलोमिटर दायाँ बाँयाँ दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो । दंगाग्रस्त क्षेत्रमा कुनै पनि किसिमको जुलुस, सभा र प्रर्दशन गर्न निषेध गरिएको छ ।











