बदनामले हिन्दू राष्ट्र माग्दा हिन्दू धर्मकै अपमान
१५ भदौ, काठमाडौं । हिन्दू राष्ट्रको माग गर्दै मंगलबार राजधानीमा विभिन्न समूहले प्रदर्शन गरेका छन् । राप्रपा नेपालले त्रिपुरेश्वरदेखि विजुलीबजारसम्म विरोध र्यालीको आयोजना गर्यो । राप्रपा नेपालको प्रदर्शन यसअघिजस्तै अराजक हुने अनुमान गरिए पनि मंगलबारको प्रदर्शन सामान्य रह्यो ।
संविधान सभाको पूर्वतर्फ मिनभवन क्षेत्रमा भ्रष्ट्राचारी काग्रेस नेता खुमबहादुर खड्काको नेतृत्वमा प्रदर्शन भयो । कांग्रेस पार्टीको नीतिभन्दा बाहिर गएर खुमबहादुरले हिन्दू राष्ट्रको माग गर्दै विभिन्न प्रदर्शन गर्दै आएका छन् । खुमबहादुर नेतृत्वको प्रदर्शनकारीको संख्या कम भए पनि बल प्रयोग भएको थियो । धर्मका नाउँमा आफ्नो दाग पखाल्न प्रदर्शन गरेका खड्कालाई प्रहरीले पनि पानीको फोहोराले नै पखाली दिएको छ । यसअघिका संविधान सभा वरपरका प्रदर्शनमा पानी प्रयोग नगरेको प्रहरीले अवसर जराएरै खुमबहादुरको टोलीलाई नुहाइदिएको छ ।
प्रदर्शनकारीले बल प्रयोग गर्न खोजेपछि अश्रु ग्यास र पानीको फोहोराले प्रदर्शनकारीलाई अवरोध गरेको थियो ।
हिन्दू धर्मको नाममा बुढापाका नेपालीको मत बटुलेर रकम लिंदै समानुपातिक सभासद् चयन गर्ने कमल थापा र सर्वोच्च अदालतबाट भ्रष्ट्राचारी ठहर भएका खुमबहादुरले हिन्दू राष्ट्रको माग गरी प्रदर्शन गर्दा हिन्दू धर्मकै बदनाम भएको सर्वत्र चर्चा भैरहेको छ ।












