१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन स्थगित नगरी त्योभन्दा तलका सबै अधिवेशनहरु स्थगित गरेको छ । असोज २ देखि ५ गतेसम्म काठमाडौंमा हुने भनिएको पार्टी महाधिवेशन स्थगित नगरी तल्लो तहका सबै अधिवेशन स्थगित गरिएको जानकारी केन्द्रीय सदस्य नवीन्द्रराज जोसीले दिए । मंगलबारको केन्द्रीय समिति बैठकले तल्लो तहका सबै अधिवेशन स्थगित गरेको हो ।
भदौ १७ देखि पार्टीको तल्लो निकायको अधिवेशन सुरु हुने तय गरिएको थियो । कांग्रेसको नयाँ निर्णयले केन्द्रीय महाधिवेशन स्थगित नगर्नुले अन्य विकल्प खोज्ने बताइएको छ । केन्द्रीय नेतृत्वको सहमतिमा छोटो महाधिवेशन गर्ने र निर्वाचन आयोगबाट अवैधानिक हुनबाट बच्नका लागि एक वर्ष वा ६ महिनाका लागि वर्तमान कार्य समितिलाई नै निर्वाचित गर्ने तयारी कांग्रेसले गरेको बुझिएको छ ।
अन्तरिम संविधानको व्यवस्थाअनुसार नयाँ प्रत्येक ५ वर्षमा पार्टीको महाधिवेशन हुनुपर्छ । ५ वर्षभित्र महाधिवेशन गर्न नसकेपछि कांग्रेसले अन्तरिम संविधान संशोधनमा अन्य पार्टीलाई सहमत बनाउने प्रयास गरिरहेको छ ।
पार्टी नेतृत्व संविधान जारी गर्न व्यस्त हुनुपरेको भन्दै नेपाली कांग्रेसल अन्तरिम संविधान नै संशोधन गर्ने प्रस्ताव गर्ने निर्णय समेत गरेको छ ।तर एउटा पार्टीका लागि संविधान नै संशोधन गर्नु असम्भव हुने मात्र नभई लज्जास्पद नै हुने भएको भनी आलोचना भएपछि कांग्रेसभित्र शेखर कोइरालाले नयाँ विकल्प प्रस्तुत गरेका थिए ।












