१५ भदौ, काठमाडौं । वीरगंजमा कर्फ्यु जारी रहेकै वेला मंगलबार प्रदर्शनमा उत्रिंएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ । वीरगंजको राधेमाईमा प्रहरीको गोली लागेर भवानीपुरका धर्मराज सिंहको मृत्यु भएको हो । राधेमाईकै झडपमा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
यस्तै प्रदर्शनकारी र प्रहरीबीचको दोहोरो झडपमा नगवा चोकमा दुई जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि चलाएको रबरको गोली लागेर दुई जना घाइते भएको हाम्रा संवाददाताले जानकारी दिएका छन् । घाइतेको उपचार नारायणी अस्पतालमा भैरहेको छ ।
यसैबीच प्रदर्शनकारीले आज आन्तरिक राजश्व कार्यालयका दुई गाडीमा आगजनी गरेका छन् । कार्यालय परिसरमै पसेर प्रदर्शनकारीले दुई सवारी साधनामा आगजनी गरेका हुन् । दुवै गाडी सम्पूर्ण रुपले नष्ट भएका छन् ।













