१४ भदौ, वीरगंज । वीरगन्जमा प्रहरी र आन्दोलनकारी बीच सोमबार दिनभर झडप भएको छ । संघीय समावेशी मधेशी मोर्चाका कार्यकर्ताले बाईपास सडक खण्डको नगवा चोकमा सडक अवरोध गरेपछि प्रहरीले अवरोध हटाउन खोज्दा झडप भएको हो । प्रहरीले अवरोध हटाउन खोज्दा आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुडा बर्साएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं हवाइ फायर गर्नुका साथै गोली चलाएको छ । गोली लागी ८ वर्षीय बालक विराज कुशवाहसहित तीनजना गम्भीर घाइते भएका छन् । बालक कुशवाहको टाउकोमा गोली लागेको छ ।
दिनभर झडको स्थिति भएपछि स्थानीय प्रशासनले साँझ ४ बजेबाट अनिश्चितकालीन कफ्र्यु जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थीति नियन्त्रण बाहिर गएकोले कफ्र्यु जारी गरेको जानकारी दिएका छन् ।
तर आन्दोलनकारीले भने कफ्र्युको अवज्ञा गर्दै दुई प्रहरी विटमा आगजनी गरेका छन् । गण्डक चोकको प्रहरी विट र रानीघाट प्रहरी विट आन्दोलनकारीले जलाएका हुन् । गण्डक चोकमा ७ जना प्रहरीलाई समेत आन्दोलनकारीले घेराबन्दी गरेको समाचार छ ।
स्थितीलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब ५ दर्जन भन्दा बढी रबरको गोली, १ दर्जन भन्दा हवाई फायर र ४ दर्जन भन्दा बढी अश्रु ग्यास प्रहार गरेका छन । स्थिती अहिले तनावपूर्ण रहेको छ । प्रहरीले चलाएको गोली लागि एक महिला सहित करिब एकदर्जन भन्दा बढी आन्दोलनकारी घाईते भएका छन । झडपमा चार जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर नेपाल प्रहरी र सशस्त्र गरि चार जना सुरक्षाकर्मी पनि घाइते भएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।
आन्दोलनकारी तर्फ घाईते हुनेमा वीरगन्ज १० गहवाका कृष्ण पटेल, सैमुल नेशा, रामटोल ९ का मनोज यादव, नगवाका ईरफान अंसारी, मुन्ना कुमार, सुनिल साह र राज जी तुराहा रहेका छन । घाईतेहरुलाई वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना गरिएको छ । घाईते मध्ये ईरफान र मुन्नाको अवस्था चिन्ताजन रहेको छ । उनीहरुको टाउकोमा गोलीको छर्रा लागेको अस्पतालका चिकित्सकले जनाएका छन् ।
आईतवार राति मधेशी दलका कार्यकर्ताले निषेधित क्षेत्र घोषित नगवा स्थित बाइपासमा प्रदर्शन गर्दै प्रहरी माथि ढुंगामुढा गरेपछि झडप भएको थियो । आन्दोलनकारीले सोमबार बिहानै देखि बाइपास सडकमा ढुंगा, ह्युम पाइप, बास राखेर सडक अवरुद्ध पारेका हुन् । प्रदर्शनकारीले बाइपास सडक छेउमा रोकेर राखिएको ना ४ ख २५ नम्बरको ट्रक र ना ५ प ६६१३ नम्बरको बसमा तोडफोड पनि गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ताहरुले वीरगन्जको विर्तामा स्थित स्वागतद्वारमा आगजनी गरेका छन् ।











