१२ भदौ, काठमाडौं । अद्भूत क्षमता भएका बालक आदित्य दाहाल उपचारका लागि अमेरिकामा रहेका उनको विषयमा ब्लग तथा फेसबुकमा अफवाहपूर्ण खबर फैलिएको छ । अमेरिकामा उपचार गराउने क्रममा अशुभ भएको भन्ने आशयका खबरहरु ब्लग र सामाजिक संजालमा फैलिएका छन् ।
नेपाली गुगल ब्वाय बारे अशुभ समाचार विभिन्न ब्लग र सामाजिक संजालमा फैलिएपछि आदित्य संरक्षण प्रतिष्ठानले खण्डन गरेको छ । समाचारले प्रतिष्ठानका पदाधिकारीको ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य नबुझी समाचार सम्प्रेषण नगर्न प्रतिष्ठानले आग्रह गरेको छ ।
आदित्यको उपचार अमेरिकामा जारी रहेको र रिपोर्ट आउन समय लाग्ने जानकारी उनका मामा चिरञ्जीवी गुरागाईंले नेपालदेश डट कमलाई दिए । रिपोर्ट आउन अझै केही समय लाग्ने जानकारी दिंदै गुरागाईंले ‘मृत्यु सम्म भएको अफवाह फैलाउने ब्लग तथा अनलाइनलाई कारवाही गर्न प्रहरीसमक्ष उजुरी गर्ने’ बताए । ‘जीवित मान्छेलाई मृत भनी सामाजिक संजाल र अनलाइनहरुका माध्यमबाट अफवाह फैलाउनेलाई विद्यतीय कारोवार ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको’ गुरागाईंले स्पष्ट पारे ।











