१२ भदौ, काठमाडौं । नेपालले पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको फाइनलमा नेपालले भारतलाई पराजित गरेको हो । नेपाल टाइब्रेकरमा ५–४ ले विजयी भयो ।
नेपालका लागि टाइब्रेकरमा हेमन्त थापामगर, सुनील बल, विश्वास श्रेष्ठ, दोन थापा र अनन्त तामाङले गोल गरे । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल सीधै पेनाल्टी सुटआउटमा निर्णायक बनेको हो ।

खेलको ३१औं मिनेटमा सुनिल बलको कर्नर पासलाई सदुपयोग गर्दै तेज तामाङले गोल गर्दै नेपाललाई प्रारम्भिक अग्रता दिलाएका थिए । नेपाल विजय नजिक पुगेका अवस्थामा ८८औं मिनेटमा दिनेश राजवंशीले डी बक्सभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतले बराबरी गरेको थियो ।
यो उपाधिसँगै नेपालले २२ वर्षपछि फुटबलमा पहिलो उपाधि जितेको छ । यसअघि नेपालले सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुदमा भारतलाई नै हराउँदै स्वर्ण पदक जितेको थियो ।
सो बेलामा नेपाली टिमका खेलाडी बालगोपाल महर्जनले अर्को एउटा कीर्तिमान पनि थपेका छन् । महर्जनले यसपटक प्रशिक्षकको भूमिका सम्हालेका थिए ।











