काठमाडौं, भदौ १२ । पहिलो अन्डर नाइन्टिन साफ च्याम्पियन्सिप फुटबल प्रतियोगिताको उपाधिका लागी शनिबार ९आज० आयोजक नेपाल र भारत भिड्दै छन् ।
सातदोबाटो स्थित एन्फा कमप्लेक्सको मैदानमा दिउसो ३ बजे देखि फाइनल भिडन्त सुरु हुने छ ।
प्रतियोगिताको सेमिफाइनलमा नेपालले अफगानिस्तानको चुनौति पन्छाएको थियो भने भारतले बंगलादेशलाइ पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त तय गरेको थियो ।
आज नेपाली टोलीले भारतलाई पराजित गर्दै उपाधि जितेको खण्डमा नेपाली फुटबल जगतमा २२ बर्ष देखिको उपाधि खडेरी तोडिने छ ।

नेपाल पुनः एकपल्ट साफ जित्ने संघारमा पुगेको छ । सन् १९ सय ९३ मा छैटौ दक्षिण एसियाली खेलकुदमा भारतलाई फाइनलमा हराउँदै नेपाली फुटबल टोलीले स्वर्ण पदक जितेको थियो । त्यसयता नेपाली पुरुष फुटबल टोलीले कुनै पनि उपाधि जित्न सकेको छैन । आज हुने नेपाल र भारतबीचको अण्डर १९ च्याम्पियनसिपको फाइनलमा नेपालले उपाधि जित्ने आशा जागेको छ ।
तर दक्षिण एसियाली फुटबलको ‘पावर हाउस’ भारतलाई हराउन नेपाली टोलीलाई सजिलो भने हुने छैन ।
दक्षिण एसियाको सर्बाधिक सफल फुटबल इतिहास बोकेको भारत पनि नेपाली टोलीलाई घरेलु मैदानमा ‘जिल्याउदै’ उपाधि घर लैजाने दाउमा छ ।
पछिल्लो समय महत्वपुर्ण प्रतियोगितामा भारत नेपालको लागी तगारो बन्ने गरेको छ । यस्तो अवस्थामा नेपाली टोलीसँग घरेलु मैदानमा भारतसँग बदला लिंदै ऐतिहांसिक उपाधी पोल्टामा पार्ने मौका छ ।
यसका लागी नेपाली खेलाडीहरुले संयमित प्रदर्शन गर्न आवश्यक छ । प्रतियोगितामा कमजोर देखिएको नेपाली डिफेन्सलाइनले आज सुधारिएको प्रदर्शन गर्न सके तथा बिमल घर्तीमगर, अन्जन बिष्ट, अनन्त तामाङ लगायतका भरोसा गरिएका खेलाडीहरुले आफ्नो भूमिकालाई न्याय गर्न सके नेपाली टोलीले घरेलु मैदानमा नयाँ इतिहास रच्न सक्ने छ ।











