११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलालीमा व्यक्तिको हत्या गर्ने जस्तो जघन्य अपराध गर्नेलाई नेपालीको संज्ञा दिन नसकिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ नेता देउवाले मानवअधिकार विरोधी कार्य गर्नेलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताउनुभयो ।
कैलालीमा शान्तिपूर्ण ढंगले आन्दोलनमा उत्रिएका थारु जाती षडयन्त्रको शिकार भएको उहाको भनाइ थियो । वरिष्ठ नेता देउवाले राज्यमा मानवअधिकारको अवस्था नै संकटमा परेकाले सञ्चारजगत पनि स्वतन्त्र हुन नसक्ने धारणा पनि राख्नुभयो ।
कार्यक्रममा सुशासन सुदृढीकरणमा मिडियाको भूमिका विषयक कार्यपत्रमाथि छलफल भएको थियो । छलफलमा सहभागीहरुले सरकारलाई पारदर्शी बन्न बाध्य तुल्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।












