११ भदौ, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले वार्ता र सहमतिबाट नै संविधान जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । नेपालदेश डटकमसँग शुक्रबार कुराकानी गर्दै भट्टराईले आन्दोलनरत थारु, मधेसी, दलित जनजातिसँग संवाद र सहमति गरेर नै केही हप्ताभित्र नयाँ संविधान आउने दावी गरे । टीकापुर घटनाबाट पाठ सिकेर आन्दोलनरत पक्षसँग राजनीतिक ढंगले निकास खोज्नुपर्ने धारणा उनले व्यक्त गरे । आन्दोलनरत दललाई प्रधानमन्त्रीले पत्राचार गरेर वार्ता प्रक्रिया अगाडि बढेको समेत उनले उल्लेख गरे ।

टीकापुरको हिंसा भड्काउने काम बाबुराम भट्टराईले गरेको भन्नै कांग्रेस नेता शेरबहादुर देउवाको आरोपबारेको प्रश्नमा उनले देउवाको दृष्टि आफूहरुप्रति कहिल्यै सकारात्मक नरहेको उल्लेख गरे । देउवाको आरोप निकृष्ट भएको भन्दै आफूले त्यस्तो तल्लो स्तरमा ओर्लेर टीकाटिप्पणी नगर्ने उनले बताए । यद्यपि शेरबहादुर देउवा दमनकारी सोच भएको भट्टराईले अप्रत्यक्ष रुपमा उल्लेख गरे । २०५२ सालमा आफूले नै देउवासमक्ष ४० सूत्रीय माग राखेको स्मरण गर्दै देउवाले नै आफूहरुलाई जनयुद्ध लड्न बाध्य पारेको नेता भट्टराईले बताए ।
हजारौं वर्षदेखि शोषित रहेका र अहिले पनि अर्ध दासतामा रहेका आफ्नै चेलीहरुलाई कम्लरी राखेर अस्मिता लुटिएको हेर्न बाध्य थारुले अधिकार माग्द उल्टै दमन र अपमान राज्यले गरेको संकेत गर्दै नेता भट्टराईले दमन कस्ले गरको छ भन्ने छिनोफानो इतिहासले गर्ने दावी गरे ।
संविधानको परिमार्जित विधेयकमाथिको छलफल शनिबार सकिने र त्यसको सात दिनसम्म संशोधन राख्ने समय दिइने भट्टराईले बताए । विभिन्न आन्दोलनरत पक्षसँग वार्ता गरेर आवश्यक संशोधन प्रस्ताव संविधान सभामा दर्ता गरी संविधानलाई दफावार रुपमा पारित गरिने जानकारी पनि उनले दिए ।
हेर्नुहोस् देउवा नै दमनकारी भएको भन्दै भट्टराईले बोलेको एक्ल्युसिभ अन्तरवार्ताको भिडियो :











