दिनेश ठाकुर
१० भदौ, नेपालगन्ज । नेकपा एमालेका मधेसी तथा मुस्लिम समुदायका अगुवा कार्यकर्ताहरुले जातीय आधारमा प्रदेशको सिमाकंन गर्ने कार्य गलत भएको बताएका छन् । सिमांकनपछि भइरहेको आन्दोलनमा पार्टीका नेता कार्यकर्ता समेत सहभागि हुन थालेपछि एमाले बाँकेले बिहिवार नेपालगन्जमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा पुर्ब अञ्चल कमिटिका सदस्य मो. हारुनले जातीय आधारमा राज्य बनाउन नहुने बताउनुभयो । हारुनले जातीय आधारमा पार्टीले बनाएका संगठनहरु समेत खारेज गर्न सुझाव दिनुभयो । पार्टी नीति विपरित आन्दोलनमा जाने नेता कार्यकर्तालाई तत्काल फिर्ता बोलाउन हारुनले माग गर्नुभयो । पुर्ब जिल्ला कमिटी सदस्य प्रेम नारायण पाठकले अहिलेको अवस्थामा मुलुक नै रहने हो की होइन भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो ।

नेपाल लोकतान्त्रिक मधेसी संगठनका विजय गुप्ताले जातीय आधारमा राजनीति गर्नु ठिक नभएको बताउनुभयो । जातको नाममा शासन गर्नेहरु सिमित धनी मानिसहरु हुन, गुप्ताले भन्नुभयो,– मुलुकलाई जातीय भुमरीमा नपारौं,खण्डखण्ड नगरौं । अधिकारकर्मी सुशील चौधरीले थारु समुदायको मागमा राजनीतिक नेतृत्वले बेलैमा ध्यान दिन अतिवादीहरुले खेल्ने मौका पाएको बताउनुभयो ।
दलहरुकाबीचमा सुरुमा भएको ६ प्रदेशको सहमतीमा टिक्न नसक्नु गल्ती भएको भन्दै चौधरीले थारु समुदायको माग तत्काल सम्बोधन गर्न माग गर्नुभयो ।
आदिवासी जनजाती महासङ्घ बाँकेका अध्यक्ष समेत रहेका एमाले बाँके क्षेत्र नम्बर ३ का अध्यक्ष डम्बर थापा र एमाले जिल्ला सचिवालय सदस्य तथा थारु आन्दोलन संयुक्त सङ्घर्ष समिति बाँकेका संयोजक चन्द्रबहादुर चौधरीले अधिकार प्राप्तीको आन्दोलनमा आफुहरु क्रियाशिल भएको भन्दै यसबाट पार्टीलाई नै फाइदा पुग्ने दावी गर्नुभयो । एमाले बाँकेका सचिव रत्न खत्रीका अनुसार, शुक्रबार जिल्ला कमिटीको बैठक समेत बसेर थप निर्णय गर्नेछ ।













