१० भदौ, काठमाडौं । संविधानसभाको बैठकमा बिहीबार पनि ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस’ भन्ने प्रस्तावमाथिको छलफल जारी रह्यो ।
बैठकको प्रारम्भमा नेकपा (एमाले)का सभासद् माधवकुमार नेपालले मुलुक संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरिसकेको बताउँदै जनताका प्रतिनिधि र राजनीतिक दललाई शीघ्र संविधान प्राप्तिको जनचाहना पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सडक तताउने, द्वन्द्व चर्काउने कामले स्वाभाविक रुपमा संविधान निर्माण प्रक्रियामा गम्भीर असर पर्ने स्मरण गराउँदै पछिल्लो समयमा भएका घटनाले संविधान निर्माणको प्रक्रिया तुहाउने हो कि भन्ने आशङ्का सृजना भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
एकीकृत नेकपा (माओवादी)का सभासद् बाबुराम भट्टराईले मुलुक इतिहासको नयाँ चरणमा प्रवेश गर्ने अन्तिम बिन्दुमा आइसकेको केही सातामा संविधान जारी हुने विश्वास व्यक्त गर्दै अब पछाडि फर्कन नसकिने बताउनुभयो ।
नेपाली काँग्रेसका सभासद् रामचन्द्र पौडेलले नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा लिखित संविधान शीघ्र मुलुकले पाओस् भन्ने चाहना व्यक्त गरेका बताउँदै जनचाहनाअनुसार संविधानको मस्यौदा तयार गरिएको स्पष्ट गर्नुभयो ।
मुलुकको उन्नति, आर्थिक विकास, बेरोजगारीको अन्त्य आजको आवश्यकता भएको दोहोरयाउँदै उहाँले भविष्यका पुस्तालाई स्थायित्व, शान्ति र सुशासनको प्रत्याभूत गराउने भएकाले विचलित नभई जनताले स्वागत गर्ने संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।












