१० भदौ, वीरगंज । दैनिक उपभोग्य बस्तुको आपूर्ति सहज बनाउन स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उलंघन गरेपछि बुधबार राति प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी पर्साका प्रहरी उपरिक्षकसहित आधा दर्जन घाइते भएका छन । झडपमा बन्दकर्ताहरुले हानेको ढुङ्गा लागी उपरिक्षक दिवेश लोहनी घाइते भएका हुन् । लोहनीको हात र खुट्टामा ढुङ्गा लागेको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी आपूर्ति सहज बनाउनको लागि स्कटिङ्ग गरी सवारी साधन गन्तव्यतर्फ लैजान खोज्दा बन्द आह्वानकर्ताहरुले वीरगन्जको बहुअरीमा अवरोध गरेपछि झडप भएको हो । बन्दकर्ताहरुले ना ३ ख ३८४९ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन । घटनास्थलमा तत्काल पुगेका प्रहरीले आगोलाई नियन्त्रणमा लिएकाले गाडीमा समान्य क्षति भएको छ । मोर्चाका कार्यकर्ताहरुले करिब १ दर्जन गाडीका शिशा फुटाएका छन । प्रहरीले लाठी चार्ज गर्दा आधा दर्जनभन्दा बढी बन्दकर्ता घाईते भएका छन । स्थिति तनावपूर्ण हुन थालेपछि प्रहरीले ५ राउण्ड हवाई फायर समेत गरेको थियो ।
प्रहरीको बाक्लो उपस्थितिमा करिब २ सय ७२ वटा सवारी साधनहरु स्कटिङ्ग गरी गन्तव्यतर्फ पठाईएको छ । प्रहरीले ३१ वटा बस, ६ वटा ग्यास ट्याङकर, १ सय १० ओटा मालवाहक ट्रक, २८ वटा पेट्रोलिय पदार्थ बोकेका ट्याङकर र ७६ वटा कन्टेनरसहित अन्य २१ सवारी साधनहरु गन्तव्यतर्फ पठाइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो । स्थानिय सुरक्षा समितिले वीरगन्जको मुख्य नाका वीरगन्ज भंसार कार्यालय र सुख्खा बन्दरगाहाबाट निकालिएका गाडीहरु पठाएको थियो ।
यसैगरी विभिन्न मधेशवादी दलहरुले आह्वान गरेको मधेश बन्दको आज तेह्रौ दिन पनि पर्सा, बारालगायतका तराईका जिल्लाहरु ठप्प रहेका छन । बन्दका कारण उद्योग कलकारखाना, बजार, यातायात, शिक्षण संस्था, वित्तीय संस्थाहरु ठप्प भएका छन् । लगातारको बन्दका कारण जनजीवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताहरुले वीरगन्जको त्रिभुवन राजपथ लगायतको सहायक रोडहरुको मुख्य चोकमा टायर बाली प्रदर्शन गरेका छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगन्जको घण्टाघर चोकमा नागरिक दैनिक पत्रिका जलाएका छन । नागरिक पत्रिकामा मोहनविक्रम सिंहले लेख मधेश विरोधी लेख लेखेकाले पत्रिका जलाईएको मोर्चाका जिल्ला संयोजक एव संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले बताउनु भयो ।











