९ भदौ, काठमाडौं । गृहमन्त्री वामदेव गौतमले कैलालीको टीकापुरमा सोमबार भएको घटनामा आपराधिक समूह संलग्न रहेको दाबी गरेका छन्। ७ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको घटनाबारे गौतमले मन्त्रिपरिषद बैठकमा पेस गरेको प्रारम्भिक प्रतिवेदनमा ‘प्रदर्शनमा आपराधिक समूह घुसेर सुरक्षाकर्मीमाथि आक्रमण गरेको’ उल्लेख रहेको स्रोतले जानकारी दिएको छ ।
प्रतिवेदनमा घटना कसरी घट्यो र को–को सहभागी थिए भन्ने समेटिएको जानकारी दिए पनि उनले विस्तृत विवरण दिन चाहेनन्। ‘प्रदर्शनमा बाहिरबाट आएका आपराधिक गतिविधिमा संलग्न व्यक्तिको सहभागिता रहेको प्रतिवेदनमा उल्लेख छ’, ती मन्त्रीले भने।

टीकापुरसहित देशका विभिन्न ठाउँमा जारी आन्दोलन राजनीतिक र प्रशासनिक ढंगबाट समाधान गर्ने निष्कर्ष बैठकले निकालेको थियो।
स्रोतका अनुसार गृहमन्त्रीको प्रतिवेदनमा ४ दिन अगाडि घटनाको योजना बनेको र यसमा माओवादी द्वन्द्वमा संलग्न पूर्व लडाकु संलग्न रहेको उल्लेख छ।
‘सद्भावना पार्टीका कैलालीका स्थानीय नेता रेशम चौधरी लगायतको संलग्नतामा प्रहरीमाथि सांघातिक आक्रमणको योजना बनेको थियो’,स्रोतले भन्यो, ‘त्यही योजनाअनुसार नै प्रहरीमाथि सांघातिक आक्रमण भएको हो।’
गृहस्रोतका अनुसार आन्दोलनमा एकीकृत नेकपा माओवादी तथा मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्व माओवादीका कार्यकर्ताको संलग्नता खुलेको छ।
घटनामा चौधरीको संलग्नता रहेको भन्दै स्थानीयले मंगलबार उनको फूलबारी रिसोर्ट र फूलबारी एफएमको कार्यालयमा आगजनी गरेका थिए।
मन्त्रिपरिषद बैठकले शान्ति सुरक्षा बलियो बनाउन राजनीतिक मुद्दालाई राजनीतिक तहबाटै समाधान गर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ।
बैठकले लगातारको बन्दका कारण दैनिक उपभोग्य वस्तुको कमी हुन सक्ने भन्दै आपूर्ति व्यवस्था चुस्त बनाउने निर्णयसमेत गरेको छ।











