८ भदौ, काठमाडौं । कैलालीको टीकापुरमा आन्दोलनकारीको आक्रमणमा परेर ज्यान गुमाएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

कैलालीबाट हेलिकप्टरमा राखेर न्यौपानेको शव मंगलबार दिउँसो राजधानी ल्याएर उनको अन्तिम संस्कार गरिएको हो ।
विमानस्थलबाट उनको शव सोझै महानगरीय प्रहरी वृत्त गौशालामा लगेर राखिएको थियो । त्यहाँ सुरक्षाकर्मी, आफन्त र सिनामंगल आसपासका सर्वसाधरणको भीड लागेको थियो ।
गौशाला वृत्ततमा राखिएको उनको शवमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहितका सबै अत्तिरिक्त महानिरीक्षकहरुले नेपाल प्रहरीको झण्डा ओढाएका थिए ।
न्यौपानेको शवको अन्तिम संस्कारका लागि गौशालाबाट प्रहरीले शोक धुन बजाउँदै घाटमा लगेका थिए ।

गृहमन्त्री बामदेब गौतम, सिँचाई मन्त्री एनपी साउद, कांग्रेस नेता कृष्ण सिटौला, लागतयका नेता वृत्तबाट पशुपति आर्यघाट गएका थिए । पूर्व प्रहरी महानिरीक्षक, अत्तिरिक्त महानिरीक्षकहरु न्यौपानेको श्रद्धाञ्जलि तथा शव यात्रामा सहभागी थिए । न्यौपानेको शवयात्रा तथा अन्तिम श्रद्धाञ्जलिका लागि गौशाला क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण भेला भएका थिए ।
वरिष्ठ उपरिक्षक न्यौपाने एक वर्षअघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् । उनको स्थायी घर झापा चन्द्रगढी हो । न्यौपाने हाल श्रीमती र दुई छोरा छोरी सहित काठमाण्डौं सिनामंगल बस्दै आएका थिए ।











