८ भदौ, रौतहट । रौतहटको सदरमुकाम गौरको कबिर चोकमा मंगलबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा एकजना प्रर्दशनकारीको मृत्यु भएको छ । आक्रोशित प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागी मठिया गाविस ६ का २० बर्षीय राजकिशोर ठाकुरको मृत्यु भएको हो ।
पेटमा गोली लागेको यादवको उपचारका लागी विरगंज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला अस्पाताल गौरले जनाएको छ । दंगाग्रस्त क्षेत्र घोषणा गरेपनि अवज्ञा गरी प्रर्दशन भएपछि सुरक्षाकर्मीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । करिव एक सय ५० जनाको आक्रोशित प्रर्दशनकारीले सुरक्षाकर्मी माथि ढुङ्गा मुढा प्रहार गरेपछि बाध्य भएर गोली चलाउनु परेको प्रजिअ भुजेलले बताए ।
गौर नगरपालिका क्षेत्र र गौर–चन्द्रनिगाहपुर सडक खण्डको चन्द्रपुर नगरपालिका सम्मको ४२ किमी सडक खण्डको दाँयाबाँया १ किमीसम्मको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र तोकिएको उनले जानकारी दिए । दंगाग्रस्त क्षेत्रमा पाँच जना भन्दा बढी जम्मा हुन, सभा सम्मेलन गर्न नपाईने उनले बताए ।











