८ भदौ, रौतहट । गौरमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीले चलाएको गोली लागि एक जना प्रदर्शनकारी घाइते भएका छन्।
सदरमुकाम गौरलाई दंगाग्रस्त क्षेत्र घोषणा गरे पनि प्रदर्शनकारीले अवज्ञा गरी ढंगामुडा गर्न थालेपछि प्रहरीले चलाएको जनाएको छ। पेटमा गोली लागेर घाइते भएका अन्दाजी ३० वर्षका घाइतेको नाम खुल्न सकेको छैन।

गम्भीर अवस्थाका घाइतेको हाल जिल्ला अस्पताल गौरमा उपचार भइरहेको अस्पतालका हेल्थ असिस्टेन्ट प्रमोद यादबले बताए।
प्रदर्शनकारी र प्रहरीबीच हाल सदरमुकामको कवीर चोकलगायतका क्षेत्रमा झडप हुने क्रम जारी छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ। निशेधित क्षेत्रमा नेपाली सेना भने परिचालन गरिएको छैन। सेनाले बाहिरबाट नै पेट्रोलिङ गरिरहेको छ।













