७ भदौ, कैलाली । कैलालीको टीकापुरमा बन्दकर्ताहरुले गरेको आक्रमणमा सेती अञ्चल प्रहरी प्रमुखसहित एक सुरक्षाकर्मीको मृत्यु भएको छ । अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मणप्रसाद न्यौपानेको मृत्यु भएको हो भने अर्का सुरक्षाकर्मीको नाम खुल्न सकेको छैन ।
थरुहट माग गर्दै टीकापुरमा आज गरेको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेका कारण चार प्रहरीको मृत्यु भएको दावी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारु नेता राजकुमार लेखीले नेपालदेश डटकमसँग गरे । झडपमा चार सुरक्षाकर्मीको मृत्यु हुनुका साथै प्रदर्शनकारीतर्फ दर्जनौं घाइते भएको जानकारी लेखीले दिए । तर कैलालीका पत्रकार जयराज आचार्यले दुई सुरक्षाकर्मी र तीन प्रदर्शनकारीको मृत्यु भएको जानकारी दिएका छन् ।
टीकापुर नजिकैको मनुवा भन्ने ठाउँमा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।
घटनाको विस्तृत विवरण आउन सकेको छैन । प्रहरीले मृतकको संख्या बारे आधिकारिक जानकारी दिएको छैन । घटनास्थलमा अहिले पनि भिडन्त जारी भएको जनाइएको छ । घटनास्थल टीकापुर बजारदेखि १० किलोमिटरको दूरिमा पर्छ । झडपमा दर्जनौं हताहत भएको अनुमान गरिएको छ ।













