६ भदौ, काठमाडौं । उपकुलपतिविहीन भएका मुलुकका सात विश्वविद्यालयमध्ये चार वटामा नियुक्तिका लागि शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले प्रधानमन्त्री सुशील कोइरालासँग सिफारिस गरेको छ ।
मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा प्रा डा तीर्थराज खनियालाई नियुक्त गर्न सिफारिश गरिएको छ । त्यस्तै पूर्वाञ्चलमा घनश्यामलाल दास, नेपाल संस्कृतमा कुलप्रसाद कोइराला र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा भुषण श्रेष्ठ उपकुलपतिमा सिफारिस भएका छन् ।
सिफारिस गरिएका सबैलाई विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्रीले शनिबार नै नियुक्ति गर्ने सूचनाप्राप्त भए पनि अन्तिम समयमा निर्णय हुन नसकेको बताइएको छ ।
सिफारिस गरिएका सबैलाई आइतबार नियुक्त गरिने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।











