६ भदौ, काठमाडौं । मकवानपुर जिल्लाको ऐतिहासिक पृष्ठभूमीलाई तथ्यांकीय शब्दचित्र झल्किने शिलालेख तयार गरी मकवानपुर गढी दरबार क्षेत्रमा स्थापना गरिने भएको छ ।
जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख, सभासद, क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी, व्यवसायी, संचारकर्मी, नागरिक समाजका प्रतिनिधिहरुसमेतको सहभागितामा यही भाद्र ९ गते बुधबार विहान मकवानपुर उद्योग वाणिज्य संघ, पर्यटन विकास समितिको पहलमा साथै अन्य सहयोगी निकायहरु समेतको सहयोगमा शिला स्थापना गरिने मकवानपुर उद्योग वाणिज्य संघको आज भएको पत्रकार भेटघाट कार्यक्रममा जनाएका छन् ।
बि.सं. १६१० मा मकवानपुर राज्यको राजधानी स्थापना गरिएको साथै विलय काल भने वि.सं. १८१९ भाद्र ९ गते भएको ईतिहासमा उल्लेख छ ।
मकवानपुर राज्यको चौहद्धी पूर्व टिष्टा नदी–कामाक्षमाई, पश्चिम चितवनको माडी–ठोरी नाका, उत्तर महाभारत पर्वत तथा हिमालसम्म र दक्षिण पूर्णिमा–सुगौली सम्म रहेको र तत्कालिन समयको प्रारम्भमा घरधुरी संख्या १२ हजार रहेको उल्लेख छ । यहाँ राज्य गर्ने राजाहरुमा लुहाङ्गसेन–राघव नरेन्द्रसेन–हरिहर ईन्द्रसेन–शुभसेन–माणिकसेन–हेमकर्णसेन थिए ।
हेमकर्णसेन, जसले आफ्नी छोरी गोर्खाका युवराज पृथ्वीनारायण शाहसंग विबाह गरिदिएका थिए । अन्तिम राजा भने दिग्वन्धन सेन थिए । लडाईमा केहरसिंह बस्नेत र बंसराज पाडे को नेतृत्वमा मकवानपुर राज्य माथि गोर्खालीहरुद्धारा घमासान युद्धहु“दा १८१९ भाद्र ९ गते शनिबार गोर्खाली फौज १०० जना र मकवानपुरे सिपाही ४०० जनाले वीरगति पाएका ईतिहासमा उल्लेख छ । पराजित भएर मकवानपुरे राजा दिग्वन्धन सेन, उनका परिवार र उनका मन्त्रि कनकसिंह बानियासमेत भागेका थिए । मकवानपुर गढी किल्ला १३औं शताब्दीतिरै भएर मकवानपुर नाम रहेको थियो ।













