५ भदौ, काठमाडौं । अन्ततः प्रमुख दलहरुले संघीयताका सात प्रदेशमा सहमति गर्दै नयाँ संविधानको विधेयक तयार पारेका छन् । मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले सात प्रदेशसहितको संविधानको विधेयक संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई हस्तान्तरण गरेका छन् । मुख्य दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिमा सात प्रदेश बनाउने सहमति भएपछि संविधानको विधेयकले पूर्णता पाएको छ।
विशेष समितिले छ प्रदेशको पहिलेको सिमांकनलाई पुनरावलोकन गर्दै सात संघीय प्रदेशहरु बनाउने निर्णय गरेपछि त्यसलाई समेट्दै विशेष कार्यदलले विधेयकलाई अन्तिम रुप दिएर मस्यौदा समितिमा पेस गरेको हो।
मस्यौदा समितिमा छलफल भएपछि त्यसलाई पारित गरिएको छ। पारित गरिएको विधेयकलाई कार्यदलका संयोजक तथा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले विधेयक संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमक्ष बुझाएका छन्।
अब यसलाई संविधानसभाको बैठकमा पेस गरेर छोटो छलफल हुनेछ। संशोधनका लागि नियमावलीमा रहेको सात दिनको म्यादलाई घटाएर बढी दुई दिन समय दिने गरी गृहकार्य अघि बढाइएको छ। छलफल र संशोधनपछि यही विधेयक संविधानको रुपमा संविधानसभाबाट पारित हुनेछ।











