४ भदौ, वीरगंज / २०७२प्रदेश सीमांकन प्रस्तावविरुद्ध गत सातादेखि पर्साको वीरगन्जमा भइरहेको प्रदर्शनविरुद्ध शुक्रबार स्थानीय बासिन्दा र खुद्रा व्यवसायीले स्वस्फूर्त प्रतिकार गरेका छन् । नगरमा प्रतिकार जुलुस प्रदर्शन हुँदा व्यवसायीले बन्द सटर खोलेर समर्थन जनाएका थिए । प्रतिकार समूहले ज्ञापनपत्र बुझाउन उद्योग वाणिज्य संघ पुग्दा आक्रोशित आन्दोलनकारीले घेराउ गरेका थिए । तनावग्रस्त स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएपछि सम्भावित झडप रोकिएको थियो ।
बन्द भएको आर्थिक नगरी पुनः खुलाउन भन्दै संघलाई ज्ञापनपत्र बुझाइएको थियो । लगातारको बन्दले जीविकोपार्जनमा कठिनाइ उत्पन्न भएकाले बन्दको विकल्प खोज्न संघले पहल गर्नुपर्ने उनीहरूले माग राखेका थिए । एक सातादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठन प्रभावित बनेको छ । २४ घण्टाभित्र बन्द खुलाउने प्रयास नभए बाध्य भएर प्रतिकारमा उत्रिने ज्ञापनपत्रमा उल्लेख छ । संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माले बन्दकर्तासित शनिबार छलफल गर्ने बताए ।
‘आन्दोलनकारीको मागप्रति समर्थन भए पनि बिहान र साँझ बजार खोल्न दिनुपर्यो’, शर्माले भने, ‘हामी पनि हातमा कालोपट्टी लगाएर समर्थन गर्न तयार छौँ ।’ लामो बन्दले दैनिक उपभोग्य वस्तुको अभावसमेत खडकिएको उनले बताए । यसअघि बन्दकर्ताले विगतका सम्झौता कार्यान्वयन नगरी मधेसीको अधिकार कुण्ठित गर्ने प्रमुख ४ दलका नेताको प्रतीकात्मक शव प्रदर्शन गरेका थिए ।
बाजागाजासहित निस्केको शव जुलुस नगर परिक्रमा गरी घण्टाघरमा कोणसभामा परिणत भएको थियो । अधिकारका लागि विगत ७ दिनदेखि जनता सडकमा उत्रिए पनि सरकारले बेवास्ता गरेकाले मलामी जुलुस निकालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदीप यादवले बताए ।
यसअघि हिन्दूवादी मोर्चाले पनि मधेसी दलको अराजकताको विरोध गर्दै प्रतिकार गर्ने घोषणा वीरगंजमै गरेको थियो ।













