४ भदौ, इटहरी / लगातारको वर्षापछि सप्तकोसीमा पानीको बहाव बढेर यो वर्षकै उच्च भएको छ। शुक्रबार सप्तकोसी पानीको बहाव प्रति सेकेण्ड एक लाख ९७ हजार ३ सय ८५ क्युसेक पुगेको छ।
सामान्यतयाः सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । पानीको बहावले खतराको बिन्दु क्रस गरेर उच्च हुँदा पनि भारत सरकारले कोसी व्यारेजका सबै ढोका नखोलेपछि कोसी प्रभावित क्षेत्रका बासिन्दामा त्रास बढेको छ ।
अहिले सप्तकोसी व्यारेजका ५६ ढोका मध्ये २६ वटा मात्र ढोका खोलिएको प्रहरी चौकी कोसी व्यारेजका प्रहरी सहायक निरीक्षक नरबहादुर खड्काले बताए। पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । भारत सरकारको नियन्त्रणमा रहेको कासी व्यारेजका सबै ढोका नखोलिएपछी सुनसरी तर्फका कोसी प्रभावित क्षेत्रका सर्बसाधारण आतंकित बनेका छन्।
भारतले आफू अनुकुल ढोका खोल्ने गरेका कारण आसपासका वासिन्दा त्रासमा रातदिन विताउनु परेको कोसी पिडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए। सोमवारदेखि सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार नाघेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सप्तकोसीमा पानीको बहाव बढेपछी सुनसरकिो हरिपुर, भाण्टाबारी, महेन्द्रनगर र चतरामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तयारी अबस्थामा राखेको बताएका छन् । उनले भारतले कोसी व्यारेजका सबै ढोका नखोलेको विषयमा भारतिय प्रतिनिधिहरुसंग कुरा गर्ने बताएका छन्। प्रजिअ पन्थले कोसी प्रभावित क्षेत्रका वासिन्दालाई सचेत र चनाखो हुन पनि आग्रह गरिएको बताए ।
२०६५ साल भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध कटान गर्दा सप्तकोसीमा पानीको बहाव प्रति सकेण्ड एक लाख ६८ हजार क्युसेक रहेको थियो । कोसी कटानका कारण सुनसरीको श्रीपुर, हरीपुर, पश्चिम कुसाहा, लौकहीका ५ हजार भन्दा बढि घरपरिवारलाई उठिबास बनाएको भएपनी सरकारले कोसी विडितहरुलाई प्रभावकारी योजना ल्याएर राहत प्रदान गर्न पिडितहरुले माग गरेका छन्।












