४ भदौ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले मधेसी दलले आतंककारीहरुकै शैलीमा ज्यानको मूल्य तोकेर मानवअधिकारको उपहास गरेको बताएका छन् ।
शुक्रबार बसेको व्यवस्थापिका संसद्को बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री गौतमले मधेसी दलबाट मानिसको मूल्य ५० लाख तोकिनु अन्तर्राष्ट्रिय मानवीय मूल्य र मान्यताविपरित रहेको बताए ।
आतंककारकारीले मात्रै पैसा बाँडेर मान्छेलाई मर्न मार्न उक्साउँछन्’, उनले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने दलहरुले नै आन्दोलनमा मान्छे उतार्ने नाममा मानिसको मूल्य तोक्नु चिन्ताको विषय हो ।’
आन्दोलनमा सहभागी गराएर साहदतका लागि उकास्नु कल्पनासमेत गर्न नसकिने कुरा भएको बताउँदै गौतमले शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने दलहरुका यस्ता निर्णयले मानवीय मूल्य मान्यताको खिल्ली उडाएको समेत दाबी गरे ।
बिहीबारको संसद बैठकमा सभासद्हरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सदस्य दलहरुले आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई ५० लाख दिने निर्णयको तीब्र निन्दा गरेका थिए ।
५० लाखको प्रलोभन देखाएर मधेसी दलहरुले जनतालाई आन्दोलनमा मर्न अपिल गरेपछि उनीहरुको यो निर्णयको संसद्देखि सडकसम्म निन्दा भएको थियो ।
संसदमा समेत तीब्र निन्दा भएपछि त्यसबारेमा जबाफ दिनका लागि सभाध्यक्ष सुबास नेम्बाङले सरकारलाई निर्देशन दिएछि गृहमन्त्री गौतमले आजको संसद् बैठकमा जबाफ दिएका हुन् ।












